जेठ १५ गते काठमाडौं एमालेले पूर्ण नियन्त्रणमा लिनुपर्ने, तयारी गर्न कार्यकर्तालाई ओलीको निर्देशन।

१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस्,’ ओलीले भने ।

११ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ १५ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा रहनुपर्ने बताएका छन्। उनले सो दिनका लागि कार्यकर्ताहरूलाई आवश्यक तयारी सुरु गर्न निर्देशन दिएका छन्।

राजावादीहरूले जेठ १५ गते काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरिसकेका छन्। त्यसकै सन्दर्भमा ओलीले उक्त समयमा एमालेको उपस्थितिलाई प्रभावकारी बनाउने गरी तयारी गर्न कार्यकर्तालाई आह्वान गरेका हुन्।

ओलीले भने, “१५ गते काठमाडौंमा दिउँसो ११ देखि २ बजेसम्म नेकपा एमालेको नियन्त्रण हुनु पर्छ। कुन संस्थाले कार्यक्रम गर्‍यो, कसले अगुवाई गर्‍यो भन्ने हेर्नु पर्दैन, सबै एउटै मोर्चामा लाग्नुपर्छ।”

बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको भेलामा आइतबार सम्बोधन गर्दै, ओलीले प्रशिक्षण सकिएपछि १५ गतेका लागि तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन्।
उनले भने, “प्रशिक्षण सकिएपछि तुरुन्तै १५ गतेलाई केन्द्रित गरेर तयारी थाल्नुस्। निर्देशन पछि आउँछ, तर मानसिक रूपमै तयारी अवस्थामा बस्नुस्।”

प्रोटोकलभन्दा आन्दोलन महत्वपूर्ण
प्रधानमन्त्री ओलीले आन्दोलनका बेला कुनै प्रोटोकल लागू नहुने पनि स्पष्ट पारे। “सभा वा बैठकजस्तो होइन आन्दोलन,” उनले भने, “त्यहाँ यता-उता भनेर छुट्याउने कुरा हुँदैन, सबै एउटै दिशामा लाग्नुपर्छ।”

राजावादीमाथि आलोचना
राजावादीहरूको आन्दोलनलाई उनले ‘साना स्वार्थ’ प्रेरित बताउँदै सरकार र जनताको मौन अवस्थाको फाइदा उठाएर अनावश्यक रूपमा फूर्ति देखाइरहेको टिप्पणी गरे।
“उनीहरू कुनै महान उद्देश्यका लागि होइन, व्यक्तिगत स्वार्थका लागि फूर्तिफार्ति गरिरहेका छन्,” ओलीले भने।

अन्त्यमा उनले जोड दिँदै भने, “हामीले आफूलाई चिन्नुपर्छ, बुझ्नुपर्छ र त्यसअनुसार तयार रहनुपर्छ। १५ गते के गर्ने भन्ने कुरा पार्टीले बताउनेछ, तर तयारी भोलिदेखि नै थाल्नुस्।”

प्रतिकृया दिनुहोस्