सहसचिव भट्टराई तारेखमा रिहा

अख्तियारमा १० दिनपछि पेश हुने शर्तमा भट्टराईले तारेख पाएका छन्।

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० दिनपछि उपस्थित हुने गरी तारेख दिएको छ। आयोगका एक उच्च अधिकारीका अनुसार भट्टराईलाई हाललाई तारेखमा राखिएको र उनी १० दिनपछि पुनः उपस्थित हुनुपर्नेछ।

जेठ ७ गते आयोगमा हाजिर गराइएका भट्टराईसँग अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार सोधपुछ गरेका थिए। यद्यपि, डिजिटल फरेन्सिक ल्याब (DFL) को रिपोर्ट अझै नआएकोले अनुसन्धान अघि बढाउन असहज भएको र त्यसैले उनलाई केही समयपछि पुनः बोलाउने निर्णय गरिएको अधिकारीले जनाए।

भट्टराईको मोबाइल फोन, ल्यापटपलगायत डिजिटल सामग्री अख्तियारले नियन्त्रणमा लिएर फरेन्सिक परीक्षणका लागि पठाइसकेको छ। उनीसहित अन्य तीन जनाको पनि मोबाइल परीक्षण भइरहेको छ, तर अहिलेसम्म रिपोर्ट नआएकाले थप बयान प्रक्रिया अघि बढाइएको छैन।

पर्यटक भिसाको नाममा विदेशीनेहरूबाट अवैध रूपमा रकम असुल्ने कार्यमा अध्यागमन कार्यालयका कर्मचारी र बिचौलिया संलग्न रहेको खुलासा भएको छ। युएई र कुवेततर्फ गएका महिलाहरूसँग विशेष कोडवर्ड प्रयोग गरी रकम असुल्ने काम भइरहेकोबारे अख्तियारका अधिकारीहरू जानकार रहेको र हाल सोही विषयमा गहिरो अनुसन्धान भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्