आन्दोलन चर्काउने तयारी गर्दै राप्रपा अध्यक्ष लिङ्देन

उनले प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने भन्दै सबैलाई सिंगो परिवार सहित सहभागी हुन आह्वान गरे।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र दिवस (जेठ १५) बाट सुरु हुने आन्दोलन निर्णायक हुने दाबी गरेका छन्। उनले यो आन्दोलन राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको लक्ष्यका लागि हुने उल्लेख गरे। आन्दोलन यस्तो बनाइनेछ कि प्रधानमन्त्रीलाई पदबाट भाग्न बाध्य पार्नुपर्ने अवस्था आउनेछ भन्ने उनको भनाइ थियो।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लिङ्देनले प्रधानमन्त्रीको संसदमा गरिएको भनाइको सन्दर्भ दिँदै भने, “उहाँले भने अब उमेरले भाग्न सकिन्न, भने पनि सम्झौता नगरेसम्म हामीले हेलिकप्टर चढाएर पठाउने व्यवस्था गर्नुपर्छ।”

उनले आन्दोलनलाई निर्णायक मोडमा लैजानुपर्ने भन्दै जनशक्ति परिचालनमा सबैले जुट्नुपर्नेमा जोड दिए। “यसपटक आन्दोलनलाई टुंगोमा पुर्‍याउनुपर्छ,” लिङ्देनले भने, “यसका लागि मिहिनेत बढाऔं।”

परिवारसहित आन्दोलनमा सहभागी हुन आह्वान
लिङ्देनले सबैलाई परिवारसहित आन्दोलनमा सहभागी हुन आग्रह गरे। सकेसम्म छरछिमेक र आफन्तलाई पनि साथ ल्याउन अनुरोध गरे। उनले भने, “जो आउन सक्दैनन्, उनीहरूले घरमै ताला लगाएर आन्दोलनमा आउनुहोस्।”

शान्तिपूर्ण र अहिंसात्मक आन्दोलनको प्रतिबद्धता
गत चैतमा भएको प्रदर्शन हिंसात्मक भए पनि, यसपटकको आन्दोलन पूर्णतः शान्तिपूर्ण र अहिंसात्मक हुने दाबी गरे। “आयोजकको पूर्ण नियन्त्रणमा हुनेछ, हामीकातर्फबाट कुनै हिंसा हुने छैन,” उनले भने। साथै, आन्दोलनमा हिंसा नहोस् भन्नका लागि अगुवा कार्यकर्ताहरुलाई सचेत गराउने र मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय संस्थाहरुलाई निगरानीका लागि निमन्त्रणा गर्ने बताए।

सत्याग्रह र भद्र अवज्ञाको बाटो
लिङ्देनले भारतमा ब्रिटिश शासन अन्त्य गर्न सत्याग्रह प्रयोग भएको उदाहरण दिँदै भने, “हाम्रो गणतन्त्र पनि सत्याग्रह र भद्र अवज्ञाबाटै अन्त्य हुनेछ।” उनले साथीहरूसँग हिंसा नभइ परिवर्तन सम्भव नहुने भनाइको खण्डन गर्दै शान्तिपूर्ण आन्दोलनबाटै आफ्नो ध्येय पुरा गर्ने दृढता व्यक्त गरे।

सार्वजनिक समर्थनको अपेक्षा
आन्दोलनलाई राष्ट्रिय स्वरूप दिने उद्देश्यले सबैलाई राष्ट्रिय झण्डाको मुनि ल्याउने प्रयास गर्नुपर्ने उनले बताए। “यो आन्दोलन देश बचाउने र बनाउने हो,” भन्दै सबै देशवासीको सहभागिता सुनिश्चित गराउन अपील गरे।

प्रतिकृया दिनुहोस्